Pages

Monday, July 11, 2011

दुई कैदी भागे, २५ प्रहरीको निलम्बन

सुर्खेत कारागारबाट आज बिहान ४ बजे दुई बन्दी भागेका छन्। बन्दी भागेपछि कारागारका २५ प्रहरीलाई निलम्बन गरिएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको संयोजकत्वमा छानविन समिति गठन गरिएको नागरिकन्युजकर्मी कलेन्द्र सेजुवालले जनाएका छन्।

प्रतिपक्षले बजेटको विरोध गर्ने

गोविन्द परियार, काठमाडौं, असार २८ -प्रमुख प्रतिपक्ष कांग्रेसलगायत मधेस केन्द्रित दलहरूले आफ्ना सुझाव नसमेटेको भन्दै असार ३० गते संसदमा पेस हुने बजेटको विरोध गर्ने भएका छन्। प्रधानमन्त्री झलनाथ खनालले बालुवाटारमा सोमबार बोलाएको प्रमुख तीन दलको बैठकमा कांग्रेसले बजेटको विरोध गर्ने जानकारी गराएको छ।


थ्रीजी फ्रिक्वेन्सी 'तोकका आधारमा'

रामचन्द्र भट्ट, काठमाडौं, असार २८ -संसदीय उपसमितिले मोबाइल फ्रिक्वेन्सी वितरणमा करिब ८१ अर्ब रुपैयाँ राजस्व गुमेको अनुमान गरेका बेला दूरसञ्चार प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले नेपाल टेलिकम र एनसेललाई थ्रीजी मोबाइलको फ्रिक्वेन्सी दिँदा पनि 'कुनै अध्ययन नगरी तोकका आधारमा' दिइएको खुलासा गरेका छन्।

काठमाडौँमा चौबीसै घण्टा यातायात सञ्चालन गरिने ! अर्जुन सुवेदी, काठमाडौं, असार २७- काठमाडौँमा चौबीसै घण्टा यातायात सञ्चालनको पहल गरिनेछ, पर्यटकीय क्षेत्र चौबीसै घन्टा खुल्ला हुनेछन्, पार्किङ गर्न बहुतले भवन निर्माण हुनेछ, १८ वर्ष मुनिकालाई चुरोट र मदिरा खरीद बिक्रीमा रोक हुनेछ, पाँच वर्षभित्र साक्षरता सतप्रतिशत हुनेछ, मुख्य सडक र भित्री गल्लीमा सौर्य बत्ती हुनेछन्।

परराष्ट्रमा भिड घट्यो काठमाडौं, असार २८ (नागरिक)- सरकारले नयाँ आर्थि वर्षसँगै जिल्लाबाट राहदानी वितरण गर्ने निर्णय गरेपछि परराष्ट्रमा राहदानी लिन आउनेको संख्या घटेको छ।...
माओवादी नेता तुरुन्तै छुटे महेन्द्रनगर, असार २८ (नागरिक)- ज्यानमुद्दामा समातिएका एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य लालबहादुर विक २४ घन्टा नबित्दै...


जलमाफियालाई कारबाही हुन्छ : ऊर्जामन्त्री विष्ट काठमाडौं, असार २७- ऊर्जामन्त्री गोकर्ण विष्टले झोलामा खोला बोकेर हिँड्ने जलमाफियालाई सरकारले कारबाही गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। उनले लाइसेन्स बोकेर...

हतियारसहित चार भारतीय पक्राउ वीरगञ्ज, असार २८ (नागरिक)- पर्सा प्रहरीले हतियारसहित चार भारतीय नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको छ। चेकजाँचका क्रममा आइतबार साँझ ७ : ३० बजे रक्सौल घर भएका शेख वसिर र सम्सुर... विस्तृत समाचार
झाडापखाला क्षेत्रमा स्वास्थ्य टोली टेकनारायण भट्टराई, गल्धा(पाल्पा), असार २८- पूर्वी पाल्पाको गल्धा गाविसमा फैलिएको झाडापखाला नियन्त्रण गर्न सोमबार मात्र स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको छ। दुई सातादेखि फैलिएको झाडापखालाले तीन जनाको मृत्यु भएपछि... विस्तृत समाचार
सडकमा धराप थाप्ने साधन नियन्त्रण गाह्रो निर्मल घिमिरे, काठमाडौं, असार २८- उपत्यकामा पछिल्लो साता मात्र शारीरिक शक्तिबाट चल्ने साधनका कारण तीनवटा सवारी दुर्घटना भए। सातामा औसत पाँचवटा हुने यस्तो दुर्घटनामा यसपटक मात्रा घटेको हो। ... विस्तृत समाचार
पश्‍चिम सुर्खेतमा चरम भोकमरी कलेन्द्र सेजुवाल, सुर्खेत, असार २८- पश्चिम सुर्खेतको लगाम र बेतानमा भोकमरी समस्या चर्किएपछि स्थानीयको एक टोली सदरमुकाम वीरेन्द्रनगर आइपुगेको छ। टोलीले जिल्लास्थित सरकारी निकाय र राजनीतिक दलसँग समस्या... विस्तृत समाचार
हात्तीको आक्रमणले १ को मृत्यु दिलवहादुर छत्याल, धनगढी, असार,२८- कैलाली चुहा गाविस ५ बस्ने हरिप्रसाद जैशीको सोमवार हात्तिले आक्रमण गर्दा मृत्यु भएको छ। घर नजिकैको बनमा घाँस काट्ने बेला करिब ७० वर्षीय बृद्ध जैशीलाई जंगली हात्तीले...

Thursday, April 21, 2011

चिया किसानले प्रधानमन्त्रीको गृहजिल्ला बन्द गराए

रोशन साँवा, इलाम, वैशाख ९- हरियो चियापत्ति बिक्री गर्न पाउनुपर्ने माग राख्दै प्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलामका किसानहरुले आज शुक्रबार बिहानैदेखि यातायात र बजार बन्द गराएका छन्। चिया मजदुरको आन्दोलनका कारण दैनिक लाखौं रुपैयाँको हरियो चियापत्ति नष्ट भइरहेको भन्दै उनीहरुले बन्द आह्वान गरेका हुन्।

इलाममा मात्र करिब पाँच हजार किसानले दैनिक एक लाख २० हजार किलोभन्दा बढी हरियो चियापत्ति उत्पादन गर्दछन्।

चैत बैशाख उत्कृष्ट चिया उत्पादन हुने समय हो। यो वर्ष किसानहरुले अहिलेसम्मकै उच्च मूल्य पाउन थालेका थिए। चिया उद्योगहरुले प्रतिकिलो ४० रुपैयाँसम्ममा हरियो पत्ति खरिद गर्न थालेका थिए। मजदुरले सामाजिक सुरक्षा, तलव, उपदान र सञ्चय कोषलगायतका माग राख्दै आइतबार देखि पूर्वका उद्योगहरु बन्द गराएका छन्।

उनीहरुले मेची राजमार्गको फिक्कल-कन्याम खण्डमा मोटरसाइकलसमेत चल्न दिएका छैनन्। चिया किसानले बिहीवार दिउँसो पनि फिक्कलमा दुई घण्टा गाडी बन्द गराएका थिए।

दूतावासमा आफ्नै सुरक्षा दस्ता राख्न दिन भारतीय विदेशमन्त्रीको आग्रह

काठमाडौं, वैशाख ९ (नागरिक)- आफ्ना राजदूत र दूतावासका कर्मचारी असुरक्षित रहेकाले दूतावासमा सशस्त्र दस्ता राख्न दिन भारतीय विदेशमन्त्री एसएम कृष्णाले नेपाली अधिकारीसमक्ष आग्रह गरेका छन्।

नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएका कृष्णाले सोही साँझ होटल याक एन्ड यतिमा भएको नेपाल-भारत मन्त्रीस्तरीय बैठकमा दूतावास सुरक्षाबारे प्रश्न गरेका थिए।

‘हामी दूतावास र कर्मचारीको सुरक्षा चाहन्छौँ,' कृष्णालाई उद्धृत गर्दै बैठकमा सहभागी एक अधिकारीले भने, ‘कि हामीलाई सुरक्षित भएको महसुस गराउनुपर्‍यो, नभए दूतावास र कर्मचारीको सुरक्षाका लागि हाम्रै सुरक्षा दस्ता राख्न दिनुपर्‍यो।'

ती अधिकारीका अनुसार सत्तासीन एकीकृत माओवादीबाटै कूटनीतिक क्षेत्रमाथि भएका दुर्व्यवहारप्रति कृष्णाले खुलेरै आलोचना गरेका थिए।

‘राजदूत जहाँ जान्छन्, विरोध गर्ने, कालो झन्डा देखाउने, जुत्ता हान्ने। खोइ कहाँ छ सुरक्षा?' बैठकमा कृष्णालाई उद्धृत गर्दै ती अधिकारीले भने, ‘हाम्रो दूतावास र कर्मचारी असुरक्षित छन्। जुनसुकै बेला उनीहरूमाथि जे पनि हुनसक्छ।'

सरकारमै सहभागी दलबाट आफ्ना राजदूत र कार्यकर्तालाई दुर्व्यवहार हुनु गम्भीर घटना भएको उनले गुनासो गरे। ‘सरकारमै सहभागी एक दल (माओवादी) को हर्कत ज्यादै अशोभनीय र गम्भीर छ।'

कूटनीतिक मर्यादाविपरीत घटनामा दोषीलाई कारबाही गर्न आग्रह गर्दै कृष्णाले भने, ‘चुनावबाट आएको शक्तिले कूटनीतिक मर्यादा पालना नगरी दुर्व्यवहारमा उत्रनु दण्डनीय छ, सरकारमा सामेल एउटा दल भारतको विरोध गर्ने र अर्को चुप लागेर बस्नाले दूतावास र कर्मचारी थप असुरक्षित छन्।'

माओवादीले पाहुनाको स्वागत गर्न नजानेको उनले आरोप लगाए। दक्षिण एसियामा पाहुनालाई भगवान्सरह मान्ने संस्कृतिलाई माओवादीले नबुझेको जनाउँदै उनले भनेका थिए, ‘हामी पाहुनालाई भगवान् मान्छौँ, खोइ नेपालमा त देखिएन, सरकारमा पनि बस्ने, भारतीयलाई दुःख पनि दिने?'

ती अधिकारीका अनुसार कृष्णाले सुरक्षाको प्रश्न गर्दा नेपाली पक्ष मूकदर्शक रहेको थियो।

१२ करोड लगानीमा बुद्धको जहाज ह्यांगर

सुशील भट्टराई, काठमाडौं, वैशाख ८ -निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ करोड लगानीमा जहाज राख्ने ‘ह्यांगर' निर्माण गरिरहेको छ।यो ह्यांगर देशकै सबैभन्दा ठूलो र सुविधासम्पन्न हुने कम्पनीले दाबी गरेको छ।
ह्यांगर निर्माणको काम ६० प्रतिशत पुरा भएको कम्पनीका अधिकारीले जानकारी दिएका छन्।

‘ह्यांगर निर्माण गर्न १२ करोड रुपैयाँ लगानी गरेका छौं,' बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नागरिकसँग भने, ‘त्रिभुवन विमानस्थलसँग जग्गा भाडामा लिएर ह्यांगर बनाउन थालेका हौं। जग्गाको भाडा वार्षिक ७० लाख रुपैयाँ तिर्छौं।'

बुद्धको ह्यांगर विमानस्थल धावनमार्गको पूर्वी भागमा निर्माण भइरहेको छ। ‘अबको दुई महिनाभित्र सबै काम सकिन्छ,' उनले भने, ‘हाम्रो ह्यांगरमा बोइङ ७३७ सम्मका जहाज राख्न सकिन्छ।'

कम्पनीका अनुसार आफ्नै ह्यांगर भएपछि जहाजको सुरक्षा, मर्मतसम्भार गर्न सजिलो हुनेछ। यसअघि आफ्नो ह्यांगर नहुँदा जहाज धावनमार्गका छेउमा पार्किङ गर्नुपरेको थियो।

बुद्धका वरिष्ठ बजार प्रबन्धक रुपेश जोशीले ह्यांगरमा जहाज राख्नेदेखि मर्मत गर्ने र स्पेयर पार्ट्स फेर्नेसम्मका सबै सुविधा उपलब्ध हुने जानकारी दिए। ‘आवश्यक परे अरू वायुसेवा कम्पनीलाई पनि ह्यांगर भाडामा दिन सकिन्छ,' उनले भने।

उनका अनुसार ह्यांगर निर्माण पुरा भएपछि त्यसमा ७३७ आकारसम्मको एउटा वा एटिआर-४२ मोडेलका दुई वा बिचक्राफ्ट तीनवटासम्म राख्न सकिन्छ।

प्रबन्ध निर्देशक बस्नेतले देशको उड्डयन इतिहासमै सबैभन्दा सस्तो भाडा दरमा बुद्धका जहाजबाट विराटनगर जान पाइने बताए। ‘काठमाडौंबाट २ हजार ४ सय ६० रुपैयाँमा विराटनगर जान पाइन्छ,' उनले भने, ‘यसबाट हजारौं यात्रु लाभान्वित भइरहेका छन्।'

हाल कम्पनीले आन्तरिकतर्फ काठमाडौंबाट भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, जनकपुर, नेपालगन्ज, पोखरा, सिमरा र धनगढी गरी नौ गन्तव्यमा उडान गरिरहेको छ।

अन्तर्राष्ट्रियतर्फ भने भारतको लखनऊ र भुटानको पारो उडान गरिरहेको छ। लखनऊका लागि साताका आइतबार, बुधबार र शुक्रबारको तालिका छ भने पारोका लागि चार्टर उडान गरिरहेको छ। ‘यसअघि भुटानका लागि नियमित उडान गर्थ्यौं,' उनले भने, ‘तर, पर्याप्त यात्रु नपाएपछि नियमित उडान बन्द गरी चार्टरमात्र गरिरहेका छौं।'

बुद्धले लखनऊका लागि ४७ सिट क्षमताको एटिआर-४२ जहाज प्रयोग गरिरहेको छ। कम्पनीसँग हाल ४७ सिट क्षमताका तीन एटिआर-४२, १८ सिट क्षमताका चार बिचक्राफ्ट र ७२ सिटे एउटा एटिआर-७२ जहाज
सञ्चालनमा छन्। उसँग रहेका सात बिचक्राफ्टमध्ये तीनवटा अर्को निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सलाई बेचेको थियो।

कम्पनीले लखनऊपछि पटना र कोलकाता उडाउने योजना पनि बनाएको छ। त्यसपछि बनारस हुँदै गुवाहाटी, गोरखपुर, देहरादुनलगायत सेक्टरमा उडान गर्ने योजना पनि उसको छ।

नेपालबाट २ घन्टा ३० मिनेट दुरीमा पर्ने सम्पूर्ण गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएको छ।

नेपाल र भारतबीच भएको हवाई सेवा सम्झौताअनुसार दुवै देशका
तोकिएका वायुसेवा कम्पनीले एकतर्फी ३० हजार सिट उपयोग गर्न
पाउँछन्। भारतीय महानगर नयाँदिल्ली, मुम्बई, चेन्नई, कोलकाता, हैदरावाद र बैंगलोरमा यहाँबाट एकतर्फी प्रतिसाता ३० हजार सिट उपयोग गर्न पाउँछन्।

त्यहाँका अहमदावाद, अमृतसर, कोचिन, गया, गोवा, जयपुर, लखनउ, पटना, बनारसलगायत १८ सहर तथा भारतबाट सार्क राष्ट्रका कुनै पनि गन्तव्य जाँदा तोकिएका वायुसेवाले असिमित सिट संख्या उपयोग गर्न पाउनेछन्।


दुई नयाँ गन्तव्य
बुद्ध एयरले संखुवासभाको तुम्लिङटार र सुर्खेतमा उडान गर्ने तयारी गरेको छ।

‘हामीले तुम्लिङटार र सुर्खेतलाई नयाँ गन्तव्यका रूपमा लिएका छौं,' कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बुधबार नागरिकसँग भने, ‘यसबाट हाम्रा गन्तव्य ११ हुनेछन्।'

कम्पनीका वरिष्ठ बजार प्रंबन्धक रुपेश जोशीले एक महिनाभित्र तुम्लिङटार उडान सुरु गर्ने जानकारी दिए। सुर्खेत उडान सुरु गर्न भने करिब पाँच महिनाजति लाग्ने उनले बताए।

‘तुम्लिङटार विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ। दुई साताभित्र काम सकिएपछि हाम्रो उडान सुरु हुन्छ,' उनले भने, ‘सुर्खेतको धावनमार्गको कालोपत्रे सुरु हुन लागेको छ।'

उनका अनुसार तुम्लिङटारमा १८ सिट क्षमताको बिचक्राफ्ट जहाजबाट उडान गरिनेछ। यसभन्दा ठूलो जहाज लान प्राविधिक कठिनाइ छ।
‘तुम्लिङटारमा कार्यालय पनि स्थापना गरिसक्यौं,' उनले भने।

मोबाइलबाट केटी जिस्क्याएर हैरान पार्ने दुई युवक पक्राउ

महेश्वर चामलिङ राई, उदयपुर, वैशाख ७- मोबाइलबाट केटी जिस्काउने दुई युवा मंगलबार साँझ प्रहरी फन्दामा परेका छन्। गाईघाटकी एक युवतीलाई मोबाइलबाट ब्लफ कल गरी अश्लील शब्द प्रयोग गर्दै जिस्काएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो।

त्रियुगा नगरपालिका १ का २५ वर्षीय विष्णु राई र २१ वर्षीय दिनेश राई पक्राउ परेको त्रियुगा नगर प्रहरी प्रमुख कुमार श्रेष्ठले बताए।

दिक्तेल राजापानी घर भई गाईघाटस्थित क्याम्पसमा अध्ययनरत एक युवतीलाई अश्लील शब्दले पटकपटक जिस्काएपछि युवतीको उजुरीको आधारमा खोजतलास गर्दा उनीहरु पक्राउ परेका हुन्।

उनीहले आफ्नो ९८४२९१६५९५ र ९८४२८९१७६२ नं. को मोवाइल र अरु २ वटा नम्बरबाट फोन गरी विष्टलगायत युवतीहरुलाई हैरान पारेपछि उजुरी दिन बाध्य भएको ती युवतीले बताइन्।

दुवैलाई उनीहरुले प्रयोग गर्ने मोबाइलसहित नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

तेल संकट समाधान गर्न कर घटाउन प्रस्ताव

विज्ञान अधिकारी, काठमाडौं, वैशाख ९- आयल निगमले तेल संकट समाधानको लागि करका दर घटाउन सरकारलाई प्रस्ताव गरेको छ। निगमले सडक कर र भन्सारमा दर घटाउन सरकारलाई प्रस्ताव गरेको हो। निगमले पेट्रोलियम पदार्थमा लिदै आएको सडक र भन्सार दर प्रतिलिटर पचास पैसा लिन प्रस्ताव गरेको हो। अहिले सरकारले पेट्रोलियम पदार्थमा सडक र भन्सारमा प्रतिलिटर दुई / दुई रुपैयाँ लिदै आएको छ।

‘हामीले करका दर घटाएर अहिलेको संकट समाधान गर्न सरकारसँग आग्रह गरेका छौ,' निगमका कार्यकारी निर्देशक दिगम्बर झाले बिहीबार नागरिकसँग भने, ‘सरकारले हाम्रो प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ।' निगमका कार्यकारी निर्देशक झाले बिहीबार उपप्रधान तथा बाणिज्यमन्त्री भरतमोहन अधिकारीसँग भेटेर यो प्रस्ताव गरेका हुन्।

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निगमको प्रस्तावमा अर्थमन्त्री अधिकारी सकारात्मक देखिएको स्रोतले बतायो। करको दरमा कटौती हुन सकेमा निगमको नोक्सानी घट्नेछ। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएपछि निगमको मासिक घाटा १ अर्ब ९६ करोड पुगेको छ। उनका अनुसार पेट्रोलियम पदार्थमा सरकारले लिदै आएको मूल्य अभिवृद्धि कर(भ्याट) समेत घटाउन प्रस्ताव गरिएको छ।

निगमले पेट्रोलियम पदार्थमा तत्काललाई तीन प्रतिशत मात्र भ्याट लगाउन प्रस्ताव गरेको हो। पेट्रोलियम पदार्थको कारोबारमा संलग्न नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले समेत विहिवारनै तेलमा लगाउँदै आएको भ्याटको संरचना परिवर्तन गरेर बहुदरमा ६ प्रतिशत मात्र लगाउन प्रस्ताव गरेको थियो।

‘करको दरमा कटौती गर्न सकिएमा निगमलाई प्रतिलिटर ८ रुपैयाँ सम्म घाटा कम हुन्छ,' उनले भने, ‘यसले अहिलेको तेलको समस्या समाधान गर्न समेत मार्गप्रशस्त गर्नेछ।' निगमले अहिले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा क्रमश प्रतिलिटर ३० रुपैयाँ ९० पैसा, १२ रुपैयाँ ४२ पैसा, २ रुपैयाँ ४ पैसा र १२ रुपैयाँ ७३ पैसा राजस्व सरकारलाई बुझाउँदै आएको छ भने एलपी ग्यासमा प्रतिलिटर २ सय १२ रुपैयाँ राजस्व बुझाउने गरेको छ।


झाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएको समयका लागि मात्र करको दर घटाउन प्रस्ताव गरिएको बताउँदै मूल्य घटेमा फेरी करको दर बढाउन सकिने जानकारी दिए।


‘हामीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल १ सय डलर कममा आएपछि पुरानै दर लिन प्रस्ताव गरेका छौ,' झाले भने, ‘तत्कालको संकट समाधानको लागि यो विकल्प राम्रो हो।' निगमले कर छुट, मूल्यवृद्धि, अनुदान दिने मोडेलको प्रस्ताव गरेको छ। तेल संकटका लागि केही प्रतिशत मूल्यवृद्धि, कर छुट र सरकारले अनुदान दिने मोडेल पेस गरेको हो।

निगमले कर छुट सहित मूल्य बढाउन समेत प्रस्ताव गरेको छ। तल्लो तहका जनतालाई भार नपर्ने पेट्रोलियम पदार्थको मूल्य बढाउन निगमले प्रस्ताव गरेको हो। निगमले पेट्रोल र हवाई इन्धनमा परल मूल्य अनुसारनै मूल्य तय गर्न प्रस्ताव गरेको छ। निगमलाई अहिले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ३० पैसा घाटा छ। निगमले मे महिनामा आउने मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन प्रस्ताव गरेको छ। हवाई इन्धनमा नाफा भएपनि भारत भन्दा सस्तो भएकोले बढाउन प्रस्ताव गरेको छ। हवाई इन्धनमा भारतको हाराहारीमा मूल्य तय गर्ने र सडक नभएका दुर्गम जिल्लामा जाने हवाई कम्पनीलाई अनुदानमा(सस्तो)मा तेल दिने प्रस्ताव गरेको छ।


‘सडक नभएको स्थानमा जाने हवाई कम्पनीलाई सस्तोमा इन्धन दिने प्रस्ताव गरेका छौ,' झाले भने, ‘यसले दुर्गम जिल्लाका जनतालाई राहत हुनेछ।'

अध्यक्ष दाहालको प्रस्तावविरुद्ध वैद्यको फरक मत आउने

माओवादी केन्द्रीय समितिको बैठक आज-
उजिर मगर, काठमाडौं, वैशाख ९- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार पोलिटब्युरोमा पेस गरेको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएर संविधान निर्माण गर्ने प्रस्तावविरूद्ध शुक्रबार सुरू हुने केन्द्रीय समिति बैठकमा उपाध्यक्ष मोहन वैद्यले लिखित फरक मत पेस गर्ने भएका छन्।
दाहाल र वैद्यको प्रस्तावमा केन्द्रीय समितिले टुंगो लगाउन नसके विस्तारित बैठक वा भेलासम्म जानुपर्ने माग वैद्य पक्षको छ। वैद्य निकटले अहिले माओवादीभित्र मुख्य बहस जनगणतन्त्र र राष्ट्रिय स्वाधीनताका विषयमा भएको बताएका छन्।

पालुङटार विस्तारित बैठकबाट पारित ‘शान्ति स्थापना र संविधान निर्माण नभए जनविद्रोहमा जाने' कार्यदिशा दाहालले त्यागेको आरोप लगाउँदै वैद्यले फरक मत पेस गर्ने भएका हुन्। पोलिटब्युरो बैठकमा दाहालले बुधबार उक्त प्रस्ताव ल्याएपछि वैद्यले केन्द्रीय समिति बैठक डाक्न माग गरेका थिए।

‘अध्यक्षको प्रस्तावमाथि असहमति भएरै केन्द्रीय समिति बैठक डाकिएको हो। उपाध्यक्ष वैद्यले अध्यक्षको प्रस्तावमा फरक मत लिखित रूपमै राख्नुहुन्छ,' वैद्यनिकट पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले नागरिकसँग भने।

दाहालको प्रतिवेदन सारसंग्रहवादी भएको उनले टिप्पणी गरे। ‘सारसंग्रहवादी छ अध्यक्षको प्रतिवेदन, यता न उता, रात र दिनलाई के हो भन्दा केही राति केही दिन भनेजस्तो छ। यसको जवाफ अध्यक्षले कसरी दिन्छन्, हेर्न बाँकी छ,' कँडेलले भने।

वैद्य पक्षलाई शान्ति स्थापना र संविधान निर्माण विरुद्ध चित्रण गर्नु गलत भएको उनले बताए। ‘हामी शान्ति र संविधान निर्माणका विरोधी होइनौं। यसकै समर्थनमै छौं। अहिले सरकार, संविधानसभामा छौं। तर, संविधानसभाले जनताको पक्षमा केही दिन सकेन भने के गर्ने भन्ने प्रश्नमात्रै हो,' उनले भने। उनले संविधानसभाको म्यादअघि नै जनविद्रोहमा जाने नभनेको बताए। ‘जनताको पक्षमा संविधानसभाले केही नदिए के गर्ने भन्ने विषय हो। हामीले नगरे जनताले विद्रोह गर्छन्। यो कार्यदिशालाई कसरी लाने भन्ने विषय मुख्य हो,' उनले भने।

दाहालनिकट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने जेठ १४ भित्र संविधान नबन्ने निश्चित भएपछि शान्ति र संविधान निर्माणलाई टुंगोमा पुर्‍याउने उद्देश्यसाथ अध्यक्षको प्रस्ताव आएको बताए। ‘कतिपयले प्रतिक्रान्तिको तयारी गरेर शान्ति प्रक्रिया र संविधान निर्माण असफल पार्ने, संविधानसभा विघटन गर्ने षड्यन्त्र गरिरहेकाले शान्ति र संविधान निर्माणका लागि तत्काल सेना समायोजन गरी संविधानको एकीकृत मस्यौदा लिने अध्यक्षको प्रस्ताव हो,' श्रेष्ठले भने। सेना समायोजन गर्ने र संविधानको एकीकृत मस्यौदालाई पूर्णता दिन संविधानसभाले क्रमशः काम अघि बढाउने दाहालको प्रस्ताव भएको उनले बताए। दाहालनिकटले पछिल्लो प्रस्ताव उनको ‘बोल्ड डिसिजन' भएको बताएका छन्।

‘यो अध्यक्षको बोल्ड डिसिजन हो, संविधानसभा निर्वाचन सम्पन्न गर्ने बेला पनि उहाँले यस्तै निर्णय गर्नुभएको थियो। अहिले यो प्रस्तावले पनि मुलुकले पुरै पार पाउँछ,' दाहालनिकट एक स्थायी समिति सदस्यले भने। दाहालनिकट ती केन्द्रीय सदस्यले यो प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेर जाने निश्चित भएको बताएका छन्। ‘यो प्रस्तावबाट बाम बुद्धिजिवी र नागरिक समाज सबै खुसी भएका छन्,' उनले भने।