उजिर मगर, काठमाडौं, वैशाख ९- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार पोलिटब्युरोमा पेस गरेको शान्ति प्रक्रिया टुंगोमा पुर्याएर संविधान निर्माण गर्ने प्रस्तावविरूद्ध शुक्रबार सुरू हुने केन्द्रीय समिति बैठकमा उपाध्यक्ष मोहन वैद्यले लिखित फरक मत पेस गर्ने भएका छन्।
दाहाल र वैद्यको प्रस्तावमा केन्द्रीय समितिले टुंगो लगाउन नसके विस्तारित बैठक वा भेलासम्म जानुपर्ने माग वैद्य पक्षको छ। वैद्य निकटले अहिले माओवादीभित्र मुख्य बहस जनगणतन्त्र र राष्ट्रिय स्वाधीनताका विषयमा भएको बताएका छन्।
पालुङटार विस्तारित बैठकबाट पारित ‘शान्ति स्थापना र संविधान निर्माण नभए जनविद्रोहमा जाने' कार्यदिशा दाहालले त्यागेको आरोप लगाउँदै वैद्यले फरक मत पेस गर्ने भएका हुन्। पोलिटब्युरो बैठकमा दाहालले बुधबार उक्त प्रस्ताव ल्याएपछि वैद्यले केन्द्रीय समिति बैठक डाक्न माग गरेका थिए।
‘अध्यक्षको प्रस्तावमाथि असहमति भएरै केन्द्रीय समिति बैठक डाकिएको हो। उपाध्यक्ष वैद्यले अध्यक्षको प्रस्तावमा फरक मत लिखित रूपमै राख्नुहुन्छ,' वैद्यनिकट पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले नागरिकसँग भने।
दाहालको प्रतिवेदन सारसंग्रहवादी भएको उनले टिप्पणी गरे। ‘सारसंग्रहवादी छ अध्यक्षको प्रतिवेदन, यता न उता, रात र दिनलाई के हो भन्दा केही राति केही दिन भनेजस्तो छ। यसको जवाफ अध्यक्षले कसरी दिन्छन्, हेर्न बाँकी छ,' कँडेलले भने।
वैद्य पक्षलाई शान्ति स्थापना र संविधान निर्माण विरुद्ध चित्रण गर्नु गलत भएको उनले बताए। ‘हामी शान्ति र संविधान निर्माणका विरोधी होइनौं। यसकै समर्थनमै छौं। अहिले सरकार, संविधानसभामा छौं। तर, संविधानसभाले जनताको पक्षमा केही दिन सकेन भने के गर्ने भन्ने प्रश्नमात्रै हो,' उनले भने। उनले संविधानसभाको म्यादअघि नै जनविद्रोहमा जाने नभनेको बताए। ‘जनताको पक्षमा संविधानसभाले केही नदिए के गर्ने भन्ने विषय हो। हामीले नगरे जनताले विद्रोह गर्छन्। यो कार्यदिशालाई कसरी लाने भन्ने विषय मुख्य हो,' उनले भने।
दाहालनिकट उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने जेठ १४ भित्र संविधान नबन्ने निश्चित भएपछि शान्ति र संविधान निर्माणलाई टुंगोमा पुर्याउने उद्देश्यसाथ अध्यक्षको प्रस्ताव आएको बताए। ‘कतिपयले प्रतिक्रान्तिको तयारी गरेर शान्ति प्रक्रिया र संविधान निर्माण असफल पार्ने, संविधानसभा विघटन गर्ने षड्यन्त्र गरिरहेकाले शान्ति र संविधान निर्माणका लागि तत्काल सेना समायोजन गरी संविधानको एकीकृत मस्यौदा लिने अध्यक्षको प्रस्ताव हो,' श्रेष्ठले भने। सेना समायोजन गर्ने र संविधानको एकीकृत मस्यौदालाई पूर्णता दिन संविधानसभाले क्रमशः काम अघि बढाउने दाहालको प्रस्ताव भएको उनले बताए। दाहालनिकटले पछिल्लो प्रस्ताव उनको ‘बोल्ड डिसिजन' भएको बताएका छन्।
‘यो अध्यक्षको बोल्ड डिसिजन हो, संविधानसभा निर्वाचन सम्पन्न गर्ने बेला पनि उहाँले यस्तै निर्णय गर्नुभएको थियो। अहिले यो प्रस्तावले पनि मुलुकले पुरै पार पाउँछ,' दाहालनिकट एक स्थायी समिति सदस्यले भने। दाहालनिकट ती केन्द्रीय सदस्यले यो प्रस्तावलाई दुई तिहाइ मतले पारित गरेर जाने निश्चित भएको बताएका छन्। ‘यो प्रस्तावबाट बाम बुद्धिजिवी र नागरिक समाज सबै खुसी भएका छन्,' उनले भने।
No comments:
Post a Comment