Pages

Thursday, April 21, 2011

दूतावासमा आफ्नै सुरक्षा दस्ता राख्न दिन भारतीय विदेशमन्त्रीको आग्रह

काठमाडौं, वैशाख ९ (नागरिक)- आफ्ना राजदूत र दूतावासका कर्मचारी असुरक्षित रहेकाले दूतावासमा सशस्त्र दस्ता राख्न दिन भारतीय विदेशमन्त्री एसएम कृष्णाले नेपाली अधिकारीसमक्ष आग्रह गरेका छन्।

नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आएका कृष्णाले सोही साँझ होटल याक एन्ड यतिमा भएको नेपाल-भारत मन्त्रीस्तरीय बैठकमा दूतावास सुरक्षाबारे प्रश्न गरेका थिए।

‘हामी दूतावास र कर्मचारीको सुरक्षा चाहन्छौँ,' कृष्णालाई उद्धृत गर्दै बैठकमा सहभागी एक अधिकारीले भने, ‘कि हामीलाई सुरक्षित भएको महसुस गराउनुपर्‍यो, नभए दूतावास र कर्मचारीको सुरक्षाका लागि हाम्रै सुरक्षा दस्ता राख्न दिनुपर्‍यो।'

ती अधिकारीका अनुसार सत्तासीन एकीकृत माओवादीबाटै कूटनीतिक क्षेत्रमाथि भएका दुर्व्यवहारप्रति कृष्णाले खुलेरै आलोचना गरेका थिए।

‘राजदूत जहाँ जान्छन्, विरोध गर्ने, कालो झन्डा देखाउने, जुत्ता हान्ने। खोइ कहाँ छ सुरक्षा?' बैठकमा कृष्णालाई उद्धृत गर्दै ती अधिकारीले भने, ‘हाम्रो दूतावास र कर्मचारी असुरक्षित छन्। जुनसुकै बेला उनीहरूमाथि जे पनि हुनसक्छ।'

सरकारमै सहभागी दलबाट आफ्ना राजदूत र कार्यकर्तालाई दुर्व्यवहार हुनु गम्भीर घटना भएको उनले गुनासो गरे। ‘सरकारमै सहभागी एक दल (माओवादी) को हर्कत ज्यादै अशोभनीय र गम्भीर छ।'

कूटनीतिक मर्यादाविपरीत घटनामा दोषीलाई कारबाही गर्न आग्रह गर्दै कृष्णाले भने, ‘चुनावबाट आएको शक्तिले कूटनीतिक मर्यादा पालना नगरी दुर्व्यवहारमा उत्रनु दण्डनीय छ, सरकारमा सामेल एउटा दल भारतको विरोध गर्ने र अर्को चुप लागेर बस्नाले दूतावास र कर्मचारी थप असुरक्षित छन्।'

माओवादीले पाहुनाको स्वागत गर्न नजानेको उनले आरोप लगाए। दक्षिण एसियामा पाहुनालाई भगवान्सरह मान्ने संस्कृतिलाई माओवादीले नबुझेको जनाउँदै उनले भनेका थिए, ‘हामी पाहुनालाई भगवान् मान्छौँ, खोइ नेपालमा त देखिएन, सरकारमा पनि बस्ने, भारतीयलाई दुःख पनि दिने?'

ती अधिकारीका अनुसार कृष्णाले सुरक्षाको प्रश्न गर्दा नेपाली पक्ष मूकदर्शक रहेको थियो।

No comments:

Post a Comment