Pages

Thursday, April 21, 2011

तेल संकट समाधान गर्न कर घटाउन प्रस्ताव

विज्ञान अधिकारी, काठमाडौं, वैशाख ९- आयल निगमले तेल संकट समाधानको लागि करका दर घटाउन सरकारलाई प्रस्ताव गरेको छ। निगमले सडक कर र भन्सारमा दर घटाउन सरकारलाई प्रस्ताव गरेको हो। निगमले पेट्रोलियम पदार्थमा लिदै आएको सडक र भन्सार दर प्रतिलिटर पचास पैसा लिन प्रस्ताव गरेको हो। अहिले सरकारले पेट्रोलियम पदार्थमा सडक र भन्सारमा प्रतिलिटर दुई / दुई रुपैयाँ लिदै आएको छ।

‘हामीले करका दर घटाएर अहिलेको संकट समाधान गर्न सरकारसँग आग्रह गरेका छौ,' निगमका कार्यकारी निर्देशक दिगम्बर झाले बिहीबार नागरिकसँग भने, ‘सरकारले हाम्रो प्रस्तावलाई सकारात्मक रुपमा लिएको छ।' निगमका कार्यकारी निर्देशक झाले बिहीबार उपप्रधान तथा बाणिज्यमन्त्री भरतमोहन अधिकारीसँग भेटेर यो प्रस्ताव गरेका हुन्।

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निगमको प्रस्तावमा अर्थमन्त्री अधिकारी सकारात्मक देखिएको स्रोतले बतायो। करको दरमा कटौती हुन सकेमा निगमको नोक्सानी घट्नेछ। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएपछि निगमको मासिक घाटा १ अर्ब ९६ करोड पुगेको छ। उनका अनुसार पेट्रोलियम पदार्थमा सरकारले लिदै आएको मूल्य अभिवृद्धि कर(भ्याट) समेत घटाउन प्रस्ताव गरिएको छ।

निगमले पेट्रोलियम पदार्थमा तत्काललाई तीन प्रतिशत मात्र भ्याट लगाउन प्रस्ताव गरेको हो। पेट्रोलियम पदार्थको कारोबारमा संलग्न नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले समेत विहिवारनै तेलमा लगाउँदै आएको भ्याटको संरचना परिवर्तन गरेर बहुदरमा ६ प्रतिशत मात्र लगाउन प्रस्ताव गरेको थियो।

‘करको दरमा कटौती गर्न सकिएमा निगमलाई प्रतिलिटर ८ रुपैयाँ सम्म घाटा कम हुन्छ,' उनले भने, ‘यसले अहिलेको तेलको समस्या समाधान गर्न समेत मार्गप्रशस्त गर्नेछ।' निगमले अहिले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा क्रमश प्रतिलिटर ३० रुपैयाँ ९० पैसा, १२ रुपैयाँ ४२ पैसा, २ रुपैयाँ ४ पैसा र १२ रुपैयाँ ७३ पैसा राजस्व सरकारलाई बुझाउँदै आएको छ भने एलपी ग्यासमा प्रतिलिटर २ सय १२ रुपैयाँ राजस्व बुझाउने गरेको छ।


झाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भएको समयका लागि मात्र करको दर घटाउन प्रस्ताव गरिएको बताउँदै मूल्य घटेमा फेरी करको दर बढाउन सकिने जानकारी दिए।


‘हामीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल १ सय डलर कममा आएपछि पुरानै दर लिन प्रस्ताव गरेका छौ,' झाले भने, ‘तत्कालको संकट समाधानको लागि यो विकल्प राम्रो हो।' निगमले कर छुट, मूल्यवृद्धि, अनुदान दिने मोडेलको प्रस्ताव गरेको छ। तेल संकटका लागि केही प्रतिशत मूल्यवृद्धि, कर छुट र सरकारले अनुदान दिने मोडेल पेस गरेको हो।

निगमले कर छुट सहित मूल्य बढाउन समेत प्रस्ताव गरेको छ। तल्लो तहका जनतालाई भार नपर्ने पेट्रोलियम पदार्थको मूल्य बढाउन निगमले प्रस्ताव गरेको हो। निगमले पेट्रोल र हवाई इन्धनमा परल मूल्य अनुसारनै मूल्य तय गर्न प्रस्ताव गरेको छ। निगमलाई अहिले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ३० पैसा घाटा छ। निगमले मे महिनामा आउने मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन प्रस्ताव गरेको छ। हवाई इन्धनमा नाफा भएपनि भारत भन्दा सस्तो भएकोले बढाउन प्रस्ताव गरेको छ। हवाई इन्धनमा भारतको हाराहारीमा मूल्य तय गर्ने र सडक नभएका दुर्गम जिल्लामा जाने हवाई कम्पनीलाई अनुदानमा(सस्तो)मा तेल दिने प्रस्ताव गरेको छ।


‘सडक नभएको स्थानमा जाने हवाई कम्पनीलाई सस्तोमा इन्धन दिने प्रस्ताव गरेका छौ,' झाले भने, ‘यसले दुर्गम जिल्लाका जनतालाई राहत हुनेछ।'

No comments:

Post a Comment